
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताएका छन् ।
बाँकेमा अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् । हिजो जनयुद्धका बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने मान्यताका साथ महिला सहभागिता बढाइएको र नेतृत्वदायी भूमिकामा अघि बढाइएको उल्लेख गरे । ‘नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र होइन, संसारभरिका महिलाका लागि प्रेरणा र उर्जाको स्रोत बनेको छ,’ उनले भने ।
जनमुक्ति सेनाको झन्डै ४० प्रतिशत संख्या महिला रहेको स्मरण गर्दै उनले महिला कमान्डरले नेतृत्व गरेका सबै लडाइँ जितिने गरेको पनि स्मरण गरे । उनले हिजो क्रान्तिको नेतृत्व र रक्षा गर्ने महिलाहरुले अब फेरि समाजवादी क्रान्तिको नेतृत्व गर्ने बेला आएको बताए ।
‘महिलाहरु चुलो-चौकाबाट निस्केर बन्दुक बोकेर युद्ध मोर्चामा जान तयार नभएको भए आजको राजनीतिक परिवर्तन सम्भव थिएन । राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिताको संवैधानिक सुनिश्चितता अझ धेरै टाढाको विषय हुने थियो,’ दाहालले भने, ‘यो नेपालसहित संसारभरिकै समानता पक्षधर श्रमजीवी जनताका लागि ऊर्जाको स्रोत बनेको छ । सामन्तहरुका लागि आफ्नो हैकम खोसिएकामा चुनौतीको विषय बनेको छ ।’
उनले जनयुद्धको रापतापबाट महिला, जनजाति, किसान, मजदुर, दलित, मधेसी, मुस्लिमलगायत उत्पीडित वर्गको मुक्तिका लागि ऐतिहासिक सफलता प्राप्त गरे पनि पछिल्ला आठ/दश वर्षमा पार्टीले आफ्नो वर्ग र समुदायसँगको सम्बन्ध कायम राख्न केही कमजोरी गरेको बताए । ‘कतै न कतै कमजोरी भयो भन्ने महसुस गरेर नै पछिल्लोपटक सरकारको नेतृत्व गर्दा रुपान्तरणको अभियान सुरु गरियो । यसले दलाल बिचौलियाहरु आतंकित र चिन्तित हुन थाले,’ अध्यक्ष दाहालले भने, ‘माओवादी सरकारमा रहिरह्यो भने हाम्रो सेटिङको जालो भत्कने भयो भनेर नै सरकार ढालिएको नेपाली जनताले प्रस्ट रुपमा बुझिसकेका छन् ।’ माओवादी नेतृत्वको सरकार कांग्रेस-एमालेले ढालेको नभई दलाल र बिचौलियाहरुले ती दलका केही नेतालाई कब्जा गरेर सरकार ढालिएको उनले स्पष्ट गरे ।
सरकारले अहिले जताततै बेथिति बढाएको उल्लेख गर्दै अध्यक्ष दाहालले विद्युत् प्राधिकरणको नेतृत्व हटाउने, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई काम गर्न नदिनेदेखि राष्ट्र बैंकमा आफ्नो अनुकूल गभर्नर ल्याउन अस्वभाविक रुपमा कार्यविधि परिवर्तन गर्नेसम्मका काम भइरहेको बताए ।
सरकारको जग नै गलत भएकाले यसले अझ बढी गलत गर्दै जाने खतरा देखेर नै पार्टीले सरकारविरुद्ध खबरदारी अभियान थालेको उनले स्पष्ट गरे । उनले अब आफ्नै वर्ग र समुदायमा फर्केर आफ्नै एजेन्डाको बलमा कसैसँग सहकार्य नगरेर एक्लै निर्वाचन लड्ने संकल्पका साथ अघि बढेको जानकारी दिए ।
रोकिएको अभियान पुनः सुरु
अध्यक्ष दाहालले पार्टीले केही समय स्थगित गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान पुनः सुरु गरिएको जानकारी दिए ।
अभियान नवलपरासीबाट सुरु गर्नुपर्ने भए पनि महिलाको प्रदेश सम्मेलनसँगै लुम्बिनीबाट अभियान सुरु गरिएको उनले जानकारी दिए । अध्यक्ष दाहालले जनयुद्धका क्रममा केन्द्रीय आधार इलाकाको भूमिका निर्वाह गरेको लुम्बिनीले सबैभन्दा धेरै बलिदान गरेको र त्यसमा पनि महिला क्रान्तिकारीहरुले त्याग बलिदानका कैयौं कृतिमान कायम गरेको बताए ।