काठमाडौं, चैत २१ :

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी), अनुपालन तथा मध्यस्थता समिति (सिएमसी)ले नेपाल रेडक्रस सोसाइटीका अध्यक्षसहित  पाँचजनालाई प्रतिबन्ध  लगाएको छ ।

आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीको सञ्चालन तहबाट हट्न र सोसाइटीको आउँदा निर्वाचनमा उम्मेदवारसमेत हुन नपाउने गरी सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालसहित विनोदकुमार बस्नेत, मनोजकुमार थापा, भूपतिलाल श्रेष्ठ र नारायण तिमिल्सेनालाई प्रतिबन्ध लगाएको हो ।

आइएफआरसीको मुख्यालय जेनेभाद्वारा आज जारी वक्तव्यअनुसार उनीहरु नेपाल रेडक्रस सोसाइटीको सञ्चालन तहको सदस्यतामा राजनीतिक दलहरूका लागि भागबन्डालाई बढावा दिएर राजनीतिक गतिविधिहरूमा संलग्न रहेको पाइएको जनाइएको छ ।

‘यो भनेको तटस्थता तथा स्वाधीनताका सिद्धान्तहरूको उल्लङ्घन हो जुन सिद्धान्तहरूको पालन विश्वभरका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूका सम्पूर्ण कर्मचारी तथा स्वयंसेवकहरूले गर्नु आवश्यक छ । 

अनुपालन तथा मध्यस्थता समितिको प्यानेलले समितिलाई प्राप्त अन्य जानकारीहरूको पनि समीक्षा गरिरहेको छ र थप व्यक्तिहरूलाई पनि पद छोड्न अनुरोध गरिन सक्दछ ,’ वक्तव्यमा भनिएको छ, ‘यसका अतिरिक्त, नेपाल रेडक्रसको नयाँ विधान तथा निर्वाचनसम्बन्धी प्रक्रियाका बारेमा सहमतिमा पुग्न सरोकारवालाहरू असफल भएको कारणबाट अन्तरराष्ट्रिय महासङ्घको सञ्चालन बोर्ड को सन् २०२५ को जुन महिनामा हुने आउँदो सत्रमा नेपाल रेडक्रस सोसाइटीका विरुद्ध प्रतिबन्ध लगाउन अनुपालन तथा मध्यस्थता समितिले सिफारिस गर्नेछ ।’

वक्तव्यमा यसमा अन्य कदमहरूका साथसाथै नेपाल रेडक्रस सोसाइटीलाई उपलब्ध गराइने आर्थिक सहयोग बन्द गर्ने विषय पनि समावेश हुन सक्ने भनिएको छ । आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीलाई प्रतिबन्ध नगरिएको हुँदा मानवीय सहयोग, आकस्मिक काम जारी रहने वक्तव्यमा जनाएको छ ।