काठमाडौँ, चैत २२ :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको दुईवटा फैसलाउपर चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगले पोखरा विश्वविद्यालयका उपप्राध्यापक रवीन्द्रप्रसाद बरालविरुद्ध दायर गरेको मुद्दामा विशेषले २०८० फागुन १३ गते फैसला गरेको थियो । सो फैसलाउपर चित्त नबुझेको भन्दै आयोगले सर्वोच्चमा बिहीबार पुनरावेदन गरेको हो ।

यस्तै, मकवानपुर मनहरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईँ र इन्जिनियर अमितकुमार ठाकुरका हकमा विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै फैसलाउपर सर्वोच्चमा पुनरावेदन गरेको हो । मनहरी गाउँपालिका- ६ स्थित लोथर हाङलाङ फरिवाङ सडक स्तरोन्नति गर्ने कार्यमा भ्रष्टाचार भएको ठहर गरेको थियो । आयोगले रु तीन लाख ९१ हजार ९२९ बराबरको बिगो माग दाबी गरेको थियो । 

विशेषले उक्त मुद्दामा गत भदौ ३० गते फैसला गरेको थियो । आयोगले गरेको मागदाबी अनुसारको फैसला नभएको पाइएपछि आज ती दुवै मुद्दामा पुनरावेदन गरिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।