
नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा वृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।
बारको आज बिहान ८ बजेदेखि सुरु हुने कार्यसमिति निर्वाचनमा वरिष्ठ अविधक्ताद्वय प्राडा मिश्र र श्रेष्ठ फरक- फरक प्यानल नै बनाएर चुनावमा प्रतिस्पर्धा गर्दै छन् । न्यायालयको सुधारका लागि दुवैले आ- आफ्नो प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् ।
अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहले आफ्नो उम्मेदवारी नेपाल बारको संस्थागत, संरचनागत र नीतिगत सुधार गर्नका लागि आवश्यक कदम चाल्न, सशक्त, प्रभावकारी एवं कार्यमुखी बार निर्माण गर्न भनेको छ ।
त्यस्तै बार निर्वाचनका अर्का अध्यक्ष उम्मेदवार वरिष्ठ अधिवक्ता डा श्रेष्ठले नेपाल बार एशोसिएशनको संस्थागत सुधार र कानुन व्यवसायीको क्षमतमा अभिवृद्धिमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बारमा अध्यक्षका लागि समूहगत दुई र स्वतन्त्र तीन जनागरी पाँचजनाको उम्मेदवारी परेको छ । बारको अध्यक्ष पदका लागि वरिष्ठ अधिवक्ता प्राडा मिश्र, वरिष्ठ अधिवक्ता र श्रेष्ठ समूह बनाएरै चुनावी मैदानमा छन्। अन्य अध्यक्षमा अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आषिश पौडेल छन् । बारको २५ नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ ।
बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको छ ।
वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला रहेका छन् भने वरिष्ठ अविधक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ ।
प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार मतदाता नौ हजार ९५७ रहेका छन् । मतदान केन्द्र काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेको छ । काठमाडौँ मतदान केन्द्र सर्वोच्च अदालतको परिसरमा रहेको छ । यो केन्द्रमा करिब ६ हजार मतदाता रहेका छन् ।
आज बिहान ८ बजेदेखि मतदान सुरु भएर ४ बजे सम्पन्न हुनेछ ।