भदौ १२ :

म्याग्दीको अन्नपूर्ण गाउँपालिका- २ मा रहेको पर्यटकीयस्थल भुरुङ- तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि भित्रिएको करोडौँको योजना कार्यान्वयन हुन सकेको छैन । 

अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने पर्यटकका लागि विश्रामस्थलको रुपमा रहेको तातोपानी कुण्डलाई व्यवस्थित बनाउन सङ्घीय सरकारले पठाएको एक करोड ३० लाख बजेटको योजना कार्यान्वयन नभएको हो । 

अन्नपूर्ण गाउँपालिका- २ भुरुङ- तातोपानीका वडाध्यक्ष ओमप्रकाश फगामीले तातोपानी कुण्ड छेउमा रहेको बेनी- जोमसोम- कोरला सडकको नक्साङ्कन टुङ्गो  लगाउन भएको ढिलाइका कारण पर्यटकीय पूर्वाधार निर्माणका लागि भित्रिएको बजेट र योजना कार्यान्वयन गर्न नसकिएको बताउनुभयो ।

भुरुङ- तातोपानी पूर्वाधार निर्माण शीर्षकमा आर्थिक वर्ष २०७९- ८० मा ८० लाख र २०८०- ८१ मा प्राप्त भएको ५० लाख बजेट कार्यान्वयन नभएको हो । 

जमिनभित्रको मुहानबाट करिब ५० डिग्री तापक्रममा निस्कने प्राकृतिक तातोपानी सङ्कलन गरिएको दुई वटा पोखरी र धारामा स्नान गर्न सकिने भुरुङ-तातोपानी पूर्वाधार अभावमा व्यवस्थित बन्न सकेको छैन ।