
पछिल्ला केही दिनमा चर्चामा रहेको चलचित्र ‘ऊनको स्विटर’ को टिजरको आरम्भमै ‘म पो अलमल अलमलमा परेँ हौ,’ ‘तमोर खोला’, ‘फाक्ताङ्लुङ’, जस्ता शब्दले दर्शकलाई भावनाको खोलामा बगाउँदै लगेको छ ।
केही दिनअघि सार्वजनिक गरिएको टिजर हेरेपछि नेपाली चलचित्रमा मौलिक कथावस्तुको खोजीमा रहेका दर्शकले यसलाई एउटा नयाँ शिराबाट आएको कलात्मक प्रयासका रूपमा लिएका छन् । अटो लेख्ने जमानाका प्रेमी जोडीहरूको मिठो कथामा बनेको सुन्दर चलचित्र हुनसक्ने आकलन दर्शकले गरेको सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाले प्रस्ट पार्छ । धेरैलाई टिजरले आफ्नै किशोरकालीन फ्ल्यास ब्याकमा फर्काइदिएको छ ।
युट्युब प्रयोगकर्ता योदिन तामाङ लेख्छन्, ‘प्रत्येक नेपालीलाई यसमा गर्व छ । मैले नेपाली चलचित्र उद्योगमा यस्तो कहिल्यै देखेको थिइनँ । यो असाधारण कलात्मक सिर्जनालाई बेवास्ता नगर्नुहोस् । म आर्टमान्डुलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु ।’
त्यस्तै, नेपाली चलचित्र हेर्न खासै रुचि नदेखाउने प्रताप पौडेलको प्रतिक्रिया झनै अर्थपूर्ण छ । उनी लेख्छन्, ‘मैले नेपाली चलचित्र प्राय: हेर्दिनँ । हिन्दी र अङ्ग्रेजी चलचित्रहरूले बानी बिगारेका छन् । धेरैपछि, अब यो चलचित्रचाहिँ हेर्नुपर्छ कि जस्तो लाग्दैछ ।’
‘घुमी घुमी’का निर्देशक नवीन चौहानको शैलीप्रति सधैँ प्रभावित रहने राजीव बुढाथोकीको भनाइ बेग्लै छ । ‘इरानी चलचित्रमा देख्न पाइन्छ यस्ता दृश्यहरू,’ उनी लेख्छन्, ‘जसरी घुमी घुमी...मा सुन्तला लडाउनुभएको थियो, उसै गरी ‘ऊनको स्विटर’ मा ऊनको डल्ला लडाउनुभयो । मलाई मन पर्यो ।’
विशाल कुँवरले त टिजरलाई जीवनकै अध्यायजस्तै अनुभव गरेका छन् । ‘हैट, अटो भरेर भावना पोख्ने समयको कथा । अर्थात्, मेरो अनि समकालीन साथीहरूको समयको स्कुले अनि कलेज समय ताकाको कथा । टिजर हेर्दा जिन्दगीको फ्ल्यास ब्याकलाई नै धागोसरी उनेर यहाँसम्म ल्याइपुर्याउनुभएको जस्तो छ,’ उनले लेखेका छन् ।
आगामी वैशाख २६ गते प्रदर्शनमा आउन लागेको चलचित्रमा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा छन् । उनीहरूका अतिरिक्त एलेक्स पारस, परीक्षा लिम्बू र विल्सनविक्रम राईको पनि प्रमुख अभिनय छ । यसको टिजरमा विपिन र मिरुनाको अभिनयमार्फत प्रेम र स्मृतिका तहहरू उजागर गर्ने प्रयास गरिएको छ । एलेक्स र परीक्षाले प्रेममा आउने संवेदनशील द्वन्द्वहरूलाई जीवन्त बनाएका छन् ।
टिजरमा मिरुनाले दिएको डायरीमा विपिनले आफ्ना भावना शब्दमार्फत पोखेको दृश्य मन छुने खालको छ । मिरुनाको दृष्टिकोणले प्रेमका न्यानोपन, जटिलता र द्विविधालाई उजागर गरेको देखिन्छ ।
‘ऊनको स्विटर’ आर्टमान्डु प्रालिको ब्यानरमा बनेको पहिलो फिचर चलचित्र हो । निर्देशक नवीन चौहानकै लेखनमा बनेको चलचित्रमा सुरज कटुवालको सह-लेखन छ । चलचित्रका गीतमा सङ्गीत सुजन चापागाईंले दिएका छन् । सुनील पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू र भावना खपाङी मगरको पनि सशक्त उपस्थिति छ । चलचित्रले प्रेम, स्मृति र सम्बन्धका विविध तहलाई एउटै न्यानो स्विटरजस्तो बाँध्ने प्रयास गरेको निर्देशनको कथन छ ।
निर्देशक चौहान भन्छन्, ‘सञ्जालहरूमा भेटिएका गहिरा र आत्मीय प्रतिक्रियाले यो चलचित्र केवल हेर्नुपर्ने मात्र हैन, अनुभव गर्नुपर्ने चलचित्र बन्नेछ भन्ने विश्वास लिएको छु ।’