
भारतीय चर्चित गायिका अल्का याग्निकलाई पद्म भूषण सम्मानबाट सम्मान गरिएको छ। मंगलबार विशेष समारोहकाबीच उनलाई राष्ट्रपति द्रोपदी मुर्मुले उक्त पदकबाट सम्मान गरेकी हुन् । सम्मान ग्रहण गर्न मञ्चमा उक्लिँदै गरेको उनको भिडियो सार्वजनिक भएपछि प्रशंसकहरू उनको स्वास्थ्य अवस्थालाई लिएर चिन्तित प्रशंसकहरु खुसी भएका छन् ।
सम्मान ग्रहणपछि अल्का याग्निकले इन्स्टाग्राममार्फत आफ्नो स्वास्थ्यबारे जानकारी दिँदै विगत दुई वर्षदेखि स्वास्थ्यसम्बन्धी समस्यासँग संघर्ष गरिरहेकाले सार्वजनिक गतिविधि र स्पटलाइटबाट टाढा रहेको बताइन्। उनले आफू कठिन स्वास्थ्य अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै यस अवधिमा परिवार, साथीभाइ र शुभेच्छुकबाट प्राप्त साथ र समर्थनप्रति आभार व्यक्त गरिन्।
उनले लेखेकी छन्, “तपाईंहरूमध्ये धेरैलाई थाहा छ, म केही समयदेखि स्वास्थ्यसम्बन्धी चुनौतीहरूको सामना गरिरहेकी छु। यस्तो अवस्थामा पनि तपाईंहरूले देखाउनुभएको माया, साथ र विश्वासले मलाई निरन्तर अघि बढ्न प्रेरणा दिएको छ।”
सम्मान ग्रहणको क्षणलाई भावुक रूपमा स्मरण गर्दै उनले यो पुरस्कार केवल व्यक्तिगत उपलब्धि नभई आफ्नो सांगीतिक यात्रामा साथ दिने लाखौं श्रोताको प्रेम र सम्मानको प्रतीक भएको बताइन्। “आज मैले केवल एउटा पुरस्कार स्वीकार गरेकी छैन, बरु मेरो यात्राको हिस्सा बन्नुभएका लाखौं मानिसहरूको माया महसुस गरेकी छु,” उनले लेखेकी छन्। कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत संगीत क्षेत्रका दिग्गज व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
अल्का याग्निकको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरिरहेका प्रशंसकहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनलाई नर्भ श्रवणशक्तिको समस्या देखिएको छ ।