
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल- भारतबीच सम्बन्ध सुदृढ बनाउनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गरेका छन् ।
गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको नेपाल- भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पुर्याएको योगदान विषयक अन्तरक्रियामा उनले चन्द्रशेखरको भूमिकाको प्रशंसा गरेका हुन् ।
“चन्द्रशेखर र गणेशमानबीच निकै घनिष्ठ सम्बन्ध थियो । उहाँहरूले नेताको रूपमा राजनीतिक परिवर्तनमा खेल्नुभएको भूमिका महत्त्वपूर्ण छ,” उनले भने, “०४६ सालको जनआन्दोलनलाई सफल बनाउन चन्द्रशेखरले खेलेको भूमिका स्मरणीय छ ।” उनले चन्द्रशेखरको प्रेरणाले नेपाल- भारतको सम्बन्ध झन् बलियो बनाएको बताए ।
नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले पनि नेपालमा २०४६ मा भएको जनआन्दोलनलाई सफल बनाउनमा चन्द्रशेखरको भूमिकाको स्मरण गरे ।
भारतमा प्रधानमन्त्री हुँदा चन्द्रशेखर नेपाललाई निकै सहयोग गरेको र बिपी कोइरालासँगको सम्बन्ध पनि राम्रो रहेको उनले बताए । २०४६ सालको आन्दोलनमा उनी नेपालमै आएर गणेशमान सिंहको घरमा भाषण गरेर गएको उनले जानकारी दिए ।