बागमती, चैत २५ :

मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा सडक पार गर्न खोज्दा बसको ठक्करबाट उदयपुरको त्रियुगा नगरपालिका- २ का ५८ वर्षीय जितबहादुर प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।  

काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको बाप्र०१- ००६ख ६७१६ नम्बरको गाडी रोकेर शौचालय जानका लागि सडक पार गर्ने क्रममा ना८ख १८०९ नम्बरको बसले ठक्करले ठक्कर दिँदा प्रधानको मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । 

यस्तै मकवानपुरगढीमा आइतबार भएको अटोरिक्सा दुर्घटनामा परी गम्भीर घाइते भएका हेटौँडा उपमहानगरपालिका- ८ ओमनगरका ५४ वर्षीय सुर्ज थापामगरको उपचारका क्रममा आज मृत्यु भएको छ । 

कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरगढी गाउँपालिका–२ गढी दरबारस्थित सडकमा ना२ह १२९० नम्बरको अटोरिक्सा अनियन्त्रित भई दुर्घटना भएको हो । गम्भीर घाइते मगरको काठमाडौँस्थित अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।