
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातन्त्र प्राप्तिमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको बताएका छन् ।
गणेशमान सिंह फाउन्डेसनले आज आयोजना गरेको ‘नेपाल- भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पुर्याएको योगदान’ विषयक कार्यक्रममा उनले पूर्वप्रधानमन्त्री चन्द्रशेखरले नेपालको प्रजातन्त्रबारे नेपालमा मात्र होइन भारतमा पनि आवाज उठाएको बताए । उनी नेपाल आएपछि प्रजातन्त्र प्राप्तिका आन्दोलनमा उत्साह थपिएको देउवाको भनाइ थियो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले चन्द्रशेखरप्रति नेपालमा सम्मान र सदभाव रहेको बताउँदै अहिले पनि नेपालको गणतन्त्रात्मक व्यवस्थाप्रति भारतको सदभाव रहेको उल्लेख गरे ।
“नेपाली कांग्रेसका नेताहरु वीपी कोइराला, गणेशमान सिंहलगायतप्रति उनको सम्बन्ध राम्रो थियो”, सभापति देउवाले भने, “नेपाल धेरै पटक आउनुभएको र मैले पनि राम्रोसँग चिनेको थिएँ, भारतमा जाँदा म उहाँको निवासमा गएको छु । उहाँ सहयोगी हुनुहुन्थ्यो ।”
सभापति देउवाले नेपाल- भारतबीचको खुला सिमानाले दुई देशको प्रगाढ सम्बन्धको महत्वबारे स्पष्ट पारेको उल्लेख गर्दै दुवै देशका जनताबीच समेत घनिष्ठ सम्बन्ध रहिआएको बताए ।