अछाम, चैत २६ :

अछामको कमलबजार नगरपालिका ५ स्थित पाँचुल्ली चैतेपातल सामुदायिक वन समितिको कीर्ते कागजात बनाएर फँडानी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वन समितिका सचिव छत्रराज तिमल्सेना छन् । उनले पाँचुल्ली चैतेपातल सामुदायिक वन उपभोक्ता समितिको नाममा नक्कली कागजात बनाई वन डिभिजन कार्यालय मङ्गलसेनबाट चोत्रो (डाँठ, पात, बोक्रा) पैदावार बिक्री गर्ने अनुमति लिएर फँडानी गरेको डिभिजन वन कार्यालय अछामका प्रमुख जनक पाध्याले जानकारी दिए ।

उनले पक्राउ परेका तिमल्सेनालाई डिभिजन वन कार्यालयको पत्रका आधारमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धानको प्रक्रिया अगाडि बढिसकेको पनि जनाए । वन ऐन, २०७६ अनुसार दुई लाख रुपैयाँभन्दा बढी बिगो भएको र एक वर्षभन्दा बढी कैद हुने अवस्थाका मुद्दा अदालतमा जाने र अन्य मुद्दा वन डिभिजनले नै हेर्ने कानुनी व्यवस्था छ ।

सामुदायिक वनबाट चार हजार किलो चोत्रो (डाँठ, पात, बोक्रा) फँडानी गरिएको छ । चोत्रो (डाँठ, पात, बोक्रा) को प्रतिकिलो १० रुपैयाँ बिगो हुने भएकाले ४० हजार रुपैयाँ जरिवाना हुने र अनुसन्धानमा केही थप देखिएमा सोही दफाअनुसार कारबाही हुने पाध्यायको भनाइ छ ।

नक्कली कागजात तयार पारेर वन पैदावरको अनुमति लिन अन्य व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान भइरहेको जनाइएको छ ।