अर्घाखाँची, चैत २७ :

प्रधानमन्त्री केपी ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि तपोभूमि सम्मेलनको आज (बुधबार) उद्घाटन गरेका छन् ।

दुई दिन चल्ने सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता, नीतिनिर्मातालगायतको उपस्थिति छ । कार्यक्रम लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् तथा पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा भएको हो ।

विश्वको प्राचीन संस्कृत भाषाको व्याकरणको उत्पत्ति भएको ऐतिहासिक पुण्य र तपोभूमि पाणिनिलाई विश्वसामु चिनाउन ‘पाणिनि तपोभूमि सम्मेलन’ आयोजना गरिएको हो । सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपाली कांग्रेसका नेताद्वय चन्द्र भण्डारी र पुष्पा भुसाल, प्रदेशका उद्योग तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपानेलगायतको उपस्थिति छ ।

अर्घाखाँचीको पणेना (हालको पाणिनि गाउँपालिका) मा सिद्धेश्वर दहनजिकै पाणिनि ऋषिले २८ दिनसम्म कठोर तपस्या गरेका थिए । पहिले सागपात, पछि जल र अन्तमा वायु मात्र सेवन गरेर गरेको तपस्याले महादेव प्रशन्न भई ताण्डव नृत्यका क्रममा डमरुको तालमा १४ महेश्वर सूत्रहरू प्रदान गरेको किवंदन्ती छ ।