
लामो समयपछि बिहीबार बिहानैदेखि काठमाडौँ उपत्यकामा हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौँ, ललितपुर र भक्तपुरका धेरैजसो ठाउँमा वर्षा भइरहेको छ ।
काठमाडौँमा वर्षा भएसँगै केही दिनयता उच्च रहेको प्रदूषणको स्तर घट्दै जाने आशा गरिएको छ ।
लामो समयदेखि वर्षा नहुँदा उपत्यकासहित देशभर वायु प्रदूषणको स्तर बढेको थियो ।
आज अपराह्न र राति पनि सामान्य रुपमा वर्षा हुने मौसमविद् डेभिड ढकालले जानकारी दिए ।
वर्षासँगै काठमाडौँ उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रुपमा हट्ने उनले बताए ।
देशका अन्य जिल्लाहरूमा पनि मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ ।