
काठमाडौं, चैत २८ :
आन्दोलनरत शिक्षकहरुले माइतीघरदेखि बानेश्वरसम्मको सडकको तीनवटै लेन कब्जा गर्न खोजेपछि शिक्षक र प्रहरीबीच ठेलाठेल भएको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर चैत २० देखि काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरूले मुख्य लेन कब्जा गरेर आन्दोलन गरिरहेका छन् ।
प्रदर्शन गरेका कारण मुख्य लेन भएर गाडी गुड्न पाएका छैनन् भने दुवै तर्फका सहायक लेनबाट गाडीहरू गुडिरहेका छन् । त्यसलाई पनि छेक्न खोजेपछि प्रहरीसँग विवाद भएको हो ।
यातायात आवागमनलाई बाधा पुग्ने गरी सडक कब्जा गर्न खोजेपछि प्रहरीले अवरोध हटाउन खोजेको थियो । सिमसिमे पानी परिरहँदा पनि शिक्षकहरूले सडकलाई छाडेका छैनन् ।