
मकवानपुरमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
मकवानपुरको मकवानपुरगढीमा करेन्ट लागेर आज (शुक्रबार) बिहान एकजनाको मृत्यु भएको छ । आफ्नै घर सफा गर्ने क्रममा अचानक करेन्ट लागेर गाउँपालिका ५, सिमलटारका ५५ वर्षीय भूमिनन्द तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
करेन्ट लागेर सिकिस्त भएका तिमल्सिनाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, हेटौंडा-धरान चतरा सडकखण्डअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६, गुरुधामचोकमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
ठुलोदमारबाट हटियातर्फ जाँदै गरेको बा.प.०३-०४ प ९५२६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री स्थानीय ७६ वर्षीय अनिरुद्र बास्ताकोटीको मृत्यु भएको अर्यालले जानकारी दिए ।
दुर्घटनामा परेर सख्त घाइते बास्ताकोटीको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुर चितवनमा गएराति मृत्यु भएको हो ।
सोही दुर्घटनामा स्कुटर चालक हेटौंडा उपमहानगरपालिका १७, ठुलोगँगटेका २७ वर्षीय सन्दीप थापा घाइते भएको र उनको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।