
रेड पाण्डा संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ताप्लेजुङमा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ ।
हिमाली संरक्षण मञ्चको संयोजनमा आगामी असोज ५ गते रेड पाण्डा दिवसका अवसरमा आयोजना हुने प्रतियोगिताका सहभागीले ४८ किलोमिटर दूरी पूरा गर्नुपर्नेछ ।
म्याराथनले रेड पाण्डा संरक्षणमा विशेष योगदान पुर्याउने अपेक्षा गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो ।
म्याराथनको मार्ग पाथीभरा क्षेत्रमा तय गरिएको छ । उक्त ठाउँ रेड पाण्डाको मुख्य बासस्थान मानिन्छ।
फुङ्लिङ बजारबाट तीन हजार सात सय ९४ मिटर उचाइमा अवस्थित पाथीभरा पूजाधाम सम्मको २४ किलोमिटर उकालो र त्यहाँबाट पुनः फुङ्लिङ बजारसम्म २४ किलोमिटर ओर्लेर ४८ किमीको दूरी पूरा हुनेछ ।
उक्त प्रतियोगिता रेड पाण्डा नेटवर्क र फुङ्लिङ नगरपालिकाको सहयोग रहने जनाइएको छ । हरेक वर्ष सेप्टेम्बर २१ मा रेड पाण्डा संरक्षण दिवस मनाइन्छ ।
म्याराथनको उत्कृष्ट एकजना विजेताले एक लाख प्राप्त गर्नेछन् भने पुरुष तर्फका प्रथम, दोस्रो र तेस्रो विजेताले क्रमशः ५० हजार, ३० हजार र २० हजार प्राप्त गर्नेछन् ।
महिलातर्फका विजेतालाई पनि क्रमशःः ५०, ३० र २० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।