
फाइल फोटो ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी २०८४ सालको निर्वाचनअघि नै संविधान संशोधन गर्नुपर्ने बताएका छन्। धनकुटामा शनिबार आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान संविधानमा रहेका केही महत्वपूर्ण व्यवस्थाहरू परिमार्जन नगरी निर्वाचनमा जानु नहुने धारणा राखे।
‘संविधानभित्र थुप्रै प्रबन्धहरू छन्, तीमध्ये कतिपय संशोधन गर्नु आजको आवश्यकता हो,’ उनले भने, ‘निर्वाचन प्रणालीमा सुधार गर्न, उपराष्ट्रपतिको भूमिका र जिम्मेवारीलाई अझ प्रभावकारी बनाउन संविधान संशोधन गर्नैपर्छ। त्यसपछि मात्र २०८४ को निर्वाचनमा जानुपर्छ।’
महामन्त्री थापाले नेपाली कांग्रेसकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गराउँदै पार्टीले राष्ट्रिय अभिभाराहरू सदैव निभाउँदै आएको बताए। अहिले देखिएका समस्या समाधान गर्न पनि कांग्रेसले अग्रसरता लिनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा उनले नेपाली कांग्रेसको इतिहासमा पार्टी नेताहरूले खेलेका भूमिकाको स्मरण गरे। उनले शान्ति प्रक्रियादेखि संविधान निर्माणसम्मका संवेदनशील घडीमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले देखाएको नेतृत्वलाई उदाहरणीय बताए।
‘२०६० मा जब कांग्रेसका कार्यकर्ता माओवादी हिंसाको सिकार बने, गिरिजाबाबुले जस्तोसुकै जोखिम मोलेर माओवादीसँग वार्ता गरेर देशलाई शान्तिमा ल्याउने निर्णय गर्नुभयो,’ थापाले भने, ‘त्यस्तै २०७२ मा संविधान निर्माणका बेला सुशील कोइरालाले सबैलाई समेटेर संविधान जारी गर्न भूमिका खेलेका थिए।’ यदि एमाले अध्यक्ष रहेका केपी ओलीको 'देखाइदिन्छौं' भन्ने शैली हावी भएको भए, देश फेरि द्वन्द्वमा जान्थ्यो।”
थापाले संविधान कार्यान्वयनका लागि मधेशवादी दलहरूलाई निर्वाचनमा सहभागी गराउने काम पनि कांग्रेसकै नेतृत्वमा सम्भव भएको बताए। अहिले नागरिकमा देखिएको असन्तुष्टि गम्भीर विषय भएको उल्लेख गर्दै उनले त्यसलाई सम्बोधन गर्ने मुख्य जिम्मेवारी पनि कांग्रेसकै काँधमा आएको बताए।