
काठमाडौँ, चैत ३१ :
हङकङमा जारी चारदेशीय टी-२० सिरिजको उपाधिका लागि आज नेपालले कुवेतसँग खेल्दै छ ।
यो फाइनल खेल हङकङको मङ कोकस्थित मिसन रोड ग्राउन्डमा बिहान सवा ११ बजे सुरु हुनेछ ।
हङकङ, कुवेत, कतार र नेपाल सम्मिलित सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको थियो ।
लिग चरणमा नेपालले कतारलाई ८ विकेटले र कुवेतलाई ६ विकेटले पराजित गर्यो भने शनिबार हङकङविरूद्धको खेल भने वर्षाका कारण रद्द भएपछि नेपाल शीर्षस्थानमा हुँदै फाइनल पुगेको हो ।
लिग चरणमा कुवेतले हङकङलाई ४ विकेटले र कतारलाई ६ विकेटले पराजित गरेको थियो । कुवेतले समूह चरणमा हङकङ र कतारलाई पराजित गरेको थियो ।