
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ वर्षमा बाँकी रहेका सबै ऐन कानुन छिटो छरितो निर्माण हुने विश्वास व्यक्त गरेका छन् ।
नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना व्यक्त गर्दै उनले ८० को दशकलाई समृद्ध एवं विकसित नेपाल निर्माणको आधार बनाउन सबैको योगदान आवश्यक रहेको बताए ।
अध्यक्ष दाहालले भनेका छन्, “सङ्घीय संसद्ले कानून निर्माण, सरकारका काम कारबाहीमा निगरानी र खबरदारी एवं जनताका आवाजको प्रतिनिधित्व गर्ने विशिष्ट भूमिका खेल्दै आएको छ, तर, नयाँ संविधान जारी भएको १० वर्ष पुग्नै लाग्दा पनि हामीले सङ्घीयता कार्यान्वयनसम्बन्धी महत्वपूर्ण कतिपय कानुन निर्माण गर्न सकेका छैनौँ ।” कानुन निर्माण गर्न नसक्दा सेवा प्रवाहमा असहजता पैदा हुने र नागरिकमा अन्योलता बढाउने उनको भनाइ छ ।
त्यसैले कानुन निर्माण गर्दा राजनीतिक दलहरू दलीय स्वार्थमा नलागी देशको समृद्धि र जनचाहना सम्बोधन गर्दै समस्या समाधानतर्फ केन्द्रित हुन जरूरी रहेको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।