काठमाडौँ, भदौ १३ :

जापानले नेपालको निजामती सेवाका कर्मचारीलाई त्यहाँका विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्न करिब जापानी येन ४५ करोड ४० लाख (अनुमानित नेरु ४२ करोड २३ लाख) छात्रवृत्ति सहयोग गर्ने भएको छ । 

अर्थ मन्त्रालयमा आज आज भएको कार्यक्रममा सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत किकुता युताकाले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतासँगै नेपालका युवा निजामती सेवाका कर्मचारीलाई जापानको विश्वविद्यालयमा दुईवर्षे स्नातकोत्तर र तीनवर्षे विद्यावारिधि अध्ययन गर्नका लागि छात्रवृत्ति सहयोग प्राप्त हुने जनाइएको छ । 

यसवर्ष २० जना स्नातकोत्तर र दुई जना विद्यावारिधि गरी २२ जना कर्मचारीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिएको छ ।  

नेपालका लागि जापानी राजदूत किकुताले नेपालका निजामती सेवाका कर्मचारीलाई दक्ष बनाउन छात्रवृत्ति कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।