काठमाडौं, वैशाख ३ :

प्रख्यात पप गायिका केटी पेरीसहित पाँचजना महिलाहरू अन्तरिक्ष यात्रा सकेर सकुशल पृथ्वीमा अवतरण गरेका छन्। अमेरिकी अर्बपति तथा अमेजनका संस्थापक जेफ बेजसको अन्तरिक्ष कम्पनी ब्लु अरिजिनले बनाएको न्यु सेफर्ड रकेटमार्फत उनीहरू पर्यटकका रूपमा अन्तरिक्ष भ्रमणमा निस्किएका थिए।

उनीहरूमध्ये केटी पेरीसँगै जेफ बेजसकी हुनेवाला पत्नी लरेन सान्चेज, चर्चित टेलिभिजन प्रस्तोता गेल किङ, नासाकी पूर्वकर्मी आयसा बोवी, नागरिक अधिकारकर्मी अमान्डा नुयेन र फिल्म निर्माता किरियान फ्लिन थिए।

उक्त उडान जम्मा ११ मिनेट लामो भए पनि यसको अनुभव साह्रै रोमाञ्चक रहेको उनीहरूले बताएका छन्। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उडानको टिकट मूल्य करिब १ लाख ५० हजार अमेरिकी डलर अर्थात् झन्डै २ करोड नेपाली रुपैयाँ बराबर पर्छ।

यो टोली पृथ्वीको सतहबाट करिब १०० किलोमिटर माथिसम्म, ‘कर्मन लाइन’ भनिने वायुमण्डलको अन्तिम तह नाघेर अन्तरिक्ष प्रवेश गरेको थियो। यात्राका क्रममा उनीहरूले केही समयका लागि भारहीन (वेटलेस) अवस्था अनुभव गरेका थिए। पृथ्वीको गोलाइ र अन्तरिक्षको अँध्यारोपन अवलोकन गर्दै उनीहरूले उडानको अविस्मरणीय क्षणको मजा लिएको बताएका छन्।

गायिका केटी पेरीले अन्तरिक्षमा ‘ह्वाट अ वन्डरफुल वर्ल्ड’ बोलको गीत गाएकी थिइन् भने उनीसँगै डेजी फूल पनि लगेकी थिइन्। ‘डेजी’ उनको छोरीको नाम समेत हो। पृथ्वीमा फर्किएपछि उनले जमिन चुम्दै ती फूल उडाएकी थिइन्।

वैज्ञानिक आयसा बोवीले अन्तरिक्षमा रहँदाका केही मिनेटमै वनस्पति विज्ञान र मानव शरीरसँग सम्बन्धित तीनवटा सानो अनुसन्धानसमेत गर्न सफल भएकी छन्।

उनीहरू टेक्सासस्थित ब्लु अरिजिनको प्रक्षेपणस्थलबाट बिहान ९ बजे उडेका थिए र १० बजेर ५ मिनेटमा पुनः त्यहीँ अवतरण गरेका थिए। कम्पनीले सञ्चालन गरेको यो ११औं अन्तरिक्ष पर्यटन उडान हो।

बीबीसीका अनुसार महिला मात्रको टोलीबाट सम्पन्न यस्तो अन्तरिक्ष यात्रा ६० वर्षपछि पहिलो पटक भएको हो। यसअघि सन् १९६३ मा सोभियत महिला अन्तरिक्ष यात्री भ्यालेन्टिना तेरेस्कोवाले एकल रूपमा अन्तरिक्ष यात्रा गरेकी थिइन्।