
प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।
दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय मानवअधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९- ०८०’ पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनहरूले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनियता बढाउन आवश्यक भएको’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने तयारी छ ।
बैठकमा सभामुख देवराज घिमिरेले तत्कालीन संविधानसभा सदस्य श्रवण कुमार अग्रवालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
अग्रवालको गत साउन २१ गते निधन भएको थियो । उहाँ जनता समाजवादी पार्टी, नेपालका तर्फबाट २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद हुनुभएको थियो।
