भैरहवा, वैशाख ४ :

नेकपा माआवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारमा बिचौलियाहरु हावी भएको कारण गर्भनर नियुक्ति हुन नसकेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल, रुपन्देही शाखाले बिहीबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले बिचौलियहरु ‘बेडरुम’सम्मै पहुँच बनाएको आरोप लगाए । प्रचण्डले गभर्नर नियुक्तिमा कांग्रेस र एमालेबीच नभई बिचौलियाबीच तानातान चलिरहेको आरोप लगाए । पूर्वप्रधानमन्त्री प्रचण्डले राजावादी भनिएका दुर्गा प्रसाईंको गिरफ्तारीपछि फेरि राजावादीको ज्वरो नआउने जिकिर गरे ।

प्रचण्डले अहिलेको सरकार संविधान विपरीत, अपारदर्शी र षणयन्त्र पूर्वक बनेको सरकार भएको आरोप लगाए । दिनको उज्यालोमा सरकार बनाउने घोषणा गर्न नसकेको कारण सरकारको जन्म नै अपारदर्शी भएको उनको जिकिर थियो । विचौलियाको ईशारामा बनेको सरकार भएको कारण जनताले यो सरकारबाट धेरै अपेक्षा नराखेको उनको भनाई थियो ।

सरकारको काम कारबाहीप्रति नेपाली कांग्रेस र नेकपा एमालेभित्र नै आक्रोश रहेको बताउदै उनले दुवै पार्टीमा भुसको आगो झैं असन्तुष्टि सल्किरहेको दाबी गरे। नेकपा माआवादी (केन्द्र) अहिले हुलाकी मार्ग वरिपरि केन्द्रित रही अभियान सञ्चालन गरिरहेको छ । सोही क्रममा प्रचण्ड सहितका केन्द्रिय नेताहरु अहिले रुपन्देही पुगेका छन् ।