काठमाडौँ, साउन १३: चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेको दुईवटा बस तथा यात्रुको खोजी कार्यका लागि भारतबाट आएका प्राविधिक टोली आज फर्किएका छन् ।

नदीको वहाब ठूलो भएकोले आज विहान केही समय रोकिएको खोजी कार्य अहिले फेरि सुरु गरिएको छ । सशस्त्र प्रहरी बलको टोलीले केराबारी क्षेत्रमा खोजी सुरु गरेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले जनाएको छ । गत आइतबारदेखि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहित भारतको राष्ट्रिय आपदा मोचन बल (नेसनल डिजास्टर रेस्पोन्स फोर्स) बाट आएका १२ जनाको प्राविधिक टोलीले संयुक्त रुपमा बस र यात्रुको खोजी गरिरहेको थियो । 

खोजी कार्यमा प्रयोग भएको एउटा १९ किलोको चुम्बक हराएको छ । नेपाल–भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास कार्य जारी रहँदा पनि बस र हराइरहेका यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि हिजो भारतबाट मगाइएको दुईवटा चुम्बकको सहयोगमा खोजी गरिएको थियो । खोजी गर्ने क्रममा १९ किलोको चुम्बक त्रिशूलीले बगाएको हो । १९ किलोको चुम्बक हराए पछि हिजो बस र चुम्बक दुवैको खोजी गरिएको थियो ।१४ र १९ किलोको दुईवटा चुम्बक बसको खोजीका लागि प्रयोग गरिएको थियो ।

गएको असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नंको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नंको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो ।