काठमाडौं, वैशाख ५ :

चलचित्र ‘के घर के डेरा : घर नं २’ जेठ २ गते रिलिज हुँदै छ । केही दिन अगाडि टिजर रिलिज गरेको निर्माणपक्षले घर नं २ लाई जेठ २ गते रिलिज गर्दै छ ।

दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘के घर के डेरा : घर नं २’ को विषयलाई लिएर दर्शकमा कौतुहलता देखिएको छ । ‘पशुपतिप्रसाद १’ को झल्को टिजरले दिएको भनेर सिनेमाको चर्चा भइरहेको छ ।

‘के घर के डेरा : घर नं २’ दुई वर्ष अगाडि रिलिज भएको ‘के घर के डेरा’को सिक्वेल हो अथवा नयाँ हो ? यसमा धेरैको जिज्ञासा छ । किन भने टिजरले ‘के घर के डेरा : घर नं २’ सिक्वेल भएको संकेत गर्दैन । तर, नामले भने सिक्वेल भएको जनाउँछ ।

निर्देशक दीपेन्द्र के खनाल ‘के घर के डेरा : घर नं २’ सिक्वेल नभएको बताउँछन् । ‘यो के घर के डेराको सिक्वेल होइन । घर र डेराको कुरा सिनेमामा छ । तर, यो के घर के डेराको सिक्वेल होइन,’ उनी भन्छन्, ‘यो बिल्कुल नयाँ सिनेमा हो । नयाँ कथा हो । यो सिनेमाले नयाँ कथा लिएर आउँछ ।’

‘के घर के डेरा’ कमेडी बेसमा बनेको सिनेमा भएको भन्दै निर्देशक दीपेन्द्र ‘के घर के डेरा : घर नं २’ सोसल ड्रामा भएको प्रस्ट्याउँछन् । आफ्नो पहिचान झल्कने सिनेमा ‘के घर के डेरा : घर नं २’ भएको उनी बताउँछन् ।

‘यसमा मेरो ओर्जिनल फ्लेबर आउँछ । म जसरी आफूलाई मन लागेको सोसल ड्रामा भन्दै आएको थिएँ,’ उनी भन्छन्, ‘यो सिनेमामार्फत म आफ्नो जनरा सिनेमामा फर्किएको छु ।’

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासनासिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सिर्जना नापित, संजोग रसाइली, रुबिना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो सिनेमा स्क्रिप्ट हो ।

सिनेमामा छायांकन कृष्णबहादुर थापाको छ । ‘के घर के डेरा : घर नं २’को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।