
सुदूरपश्चिम प्रदेशमा पर्यटन विकास कार्यक्रम अन्तर्गत २२ वटा योजना सम्पन्न भएका छन् ।
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइले गत आर्थिक वर्षमा प्रदेश पर्यटन पूर्वाधार निर्माणका २० र सङ्घ तर्फका दुई गरी २२ वटा योजना सम्पन्न भएका हुन् ।
प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइका निमित्त कार्यालय प्रमुख डबलबहादुर बोहराले प्रदेशभर पहिचान भएका पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि विनियोजन गरिएको कूल चार करोड दुई लाख २० हजारमध्ये तीन करोड ६८ लाख ८१ हजार र सङ्घ तर्फको २५ लाखमा २४ लाख खर्च भएको जानकारी दिनुभयो ।
बाजुराको बडिमालिका पर्यटकीय क्षेत्रमा ३५ लाख ९० हजारको लागतमा बडिमालिका मन्दिर परिसर, बासुधारा, रौलेगोल, थिउरे, लौडी विनायक, भुज्याडा ठाउँमा रेलिङको पदमार्ग निर्माण, स्वामी कार्तिक खापर गाउँपालिका- ३ मा यात्रु प्रतिक्षालय तथा फिल्ड निर्माण र गौमुल गाउँपालिकाको दहकोट झर्ना संरक्षण तथा व्यवस्थापन गरिएको छ ।
यस्तै, खप्तडमा पदमार्ग स्तरोन्नतिमा ३६ लाख ५३ हजार, दार्चुलाको अपि बेसक्याम्पमा पर्यटकीय आवासगृह मर्मत तथा आवासगृह निर्माणमा ३५ लाख २८ हजार, ब्यास गाउँपालिका- १ स्थित योखरजाङ पदमार्ग निर्माणमा नौ लाख ९६ हजार, मालिकार्जुनधाम पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनमा नौ लाख ९६ हजार खर्च गरिएको निमित्त प्रमुख बोहराले बताउनुभयो ।
फोटो: बडिमालिका मन्दिर