
नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले शिक्षा ऐन जारी नभएसम्म विद्यालय फर्किँदैनौँ भन्दै सडकमा बसेर शिक्षकहरूले रमिता देखाइरहेको टिप्पणी गरेकी छिन् ।
शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै उनले शिक्षा ऐन सडकबाट पास नहुने भएकाले आन्दोलनको शैलीप्रति प्रश्न उठाउँदै शिक्षकहरूले देखाएको व्यवहारलाई रमिताको संज्ञा दिएकी हुन्।
‘अबचाहिँ शिक्षकहरूको रमिता बढी भयो,’ झाँक्रीले लेखेकी छन्, ‘मैले पनि यो सडकलाई नजिकबाट हेरिरहेकी छु। यतिका दिन बित्यो आउने, नाच्ने, गाउने, जाने भएको छ। के शिक्षकलाई कसैले पनि सुनेन त भनेर चासो राखेँ। मध्यस्थकर्ता जस्तो भए पनि केही न केही काम गरौं भन्ने लाग्यो। शिक्षक, सरकार र संसदबीच समन्वय र संवाद गराउनु पर्यो भनेर धेरै कोणबाट प्रयास गरेँ। तर, उहाँहरू त संवाद नै नगर्ने रे?’
उनले शिक्षा ऐन संसदको प्रक्रियामार्फत मात्र पास हुने उल्लेख गर्दै सडकबाट ऐन पास नहुने तर्क गरेकी छन्। ‘शिक्षा ऐन अहिले नै पास हुनुपर्छ, अन्यथा विद्यालय फर्किँदैनौं भन्ने शिक्षकहरूको भनाइ उपयुक्त होइन। के ऐन सडकबाट पास हुने हो र?’ भन्ने प्रश्नसहित उनले सरकार र संसदको प्रक्रियाप्रति विश्वास गर्न आग्रह गरेकी छन्।
झाँक्रीले राज्यको तलब खाने शिक्षक तथा कर्मचारीहरूले संसदमा छलफल भइरहेको विधेयक पास नभएसम्म विद्यालय नखोल्ने अडान लिन नहुने बताइन्। ‘समितिमा दफाबार छलफलमा रहेको विधेयक पास नभई फर्किन्नौं भन्न मिल्छ? राज्यको तलब खाएका शिक्षक–कर्मचारीले? ’
त्यसैगरी उनले भर्ना सिजनमा विद्यालय बन्द गरेर लाखौं विद्यार्थीको भविष्य अन्योलमा पारिएकोमा पनि असन्तुष्टि जनाइन्। ‘भर्नाको बेला विद्यालय बन्द गरेर लाखौं विद्यार्थीको भविष्य अन्योल बनाउन मिल्छ? उनले प्रश्न गरिन् निजी विद्यालयहरू धमाधम भर्ना गरेर कक्षा सञ्चालनमा लागिसकेका छन्। यहाँहरूले पढाएका कयौँ विद्यालयको रिजल्ट शून्य छ, के त्योबारे चिन्ता छ?”
शिक्षकहरूको आन्दोलन समाधानतर्फ लैजान संसदमा प्रक्रिया अगाडि बढिसकेको भन्दै उनले अब विद्यालय फर्कन आग्रह गरेकी छन्। झाँक्रीले नेताहरूप्रति पनि कटाक्ष गर्दै आन्दोलनमा ऐक्यबद्धताको नाममा रमिता नगर्न आग्रह गरेकी छन्।