
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (आइतबार) काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । राप्रपाले प्रदर्शनका क्रममा बिजुलीबजार क्षेत्रमा निषेधित क्षेत्र तोड्ने चेतावनीसमेत दिएको छ ।
यसरी निषेधित क्षेत्र तोड्ने गरी राप्रपाले गर्न लागेको प्रदर्शनप्रति गत चैत १५ मा तीनकुनेमा भएको घटना नदोहोरियोस् भनेर गृह मन्त्रालय सजग बनेको छ । राप्रपाले गर्ने भनेको प्रदर्शनका सम्बन्धमा गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
गृह मन्त्रालयले यस्तो कार्य कानुनको उल्लंघन भएको बताउँदै सम्भावित अराजकताप्रति कडा चेतावनी दिएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट मिति २०८२/०१/०७ गतेका दिन तोकिएका निषेधित क्षेत्र उल्लंघन गर्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’
मन्त्रालयले संविधान र कानुनको उल्लंघन गरेर समाजमा अराजकता फैलाउने गतिविधि सह्य नहुने स्पष्ट पारेको छ ।
मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने तथा समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र त्यसमा संलग्न जो सुकैलाई कानुन बमोजिम कारबाही हुनेछ ।’ हिंसा र उत्तेजना फैलाउने गैरकानुनी क्रियाकलापमा संलग्न नहुन पनि मन्त्रालयले सम्बन्धित सबै पक्षलाई आग्रहसमेत गरेको छ ।
उता राप्रपाले संविधान र नागरिक अधिकारका पक्षमा आवाज उठाउँदै निषेधित क्षेत्रसम्म अगाडि बढ्ने चेतावनी दिएको छ ।
