
बुटवलको सनराइज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बन्द गरेर अध्यक्ष र कोषाध्यक्ष फरार भएका छन् । गत चैत ३१ गतेदेखि सहकारीका अध्यक्ष आकाश भट्टराई र कोषाध्यक्ष वसन्त भट्टराई सम्पर्कविहीन भएपछि सहकारी बन्द अवस्थामा छ ।
बुटवल उपमहानगर वडा न–११ देवीनगरमा सञ्चालित त्यस सहकारीले बचतकर्ताको रकम कुम्लाएर कार्यालय बन्द गरेपछि अहिले बचतकर्ताहरू बिचल्लीमा परेका हुन् ।
त्यस सहकारीले बजारबाट चार वर्षदेखि निरन्तर पैसा उठाउँदै आएकाले नागरिकबाट कति रकम उठाएर ठगी गर्यो भन्ने यकिन छैन । अध्यक्ष भट्टराईले आर्थिक अपचलन गरी केही समयदेखि सम्पर्कमा नआएको, अध्यक्षको खोजी जारी रहेको कार्यालयको भित्तामा टाँसिएको सूचनामा उल्लेख छ ।
सूचनामा बचतकर्तालाई अध्यक्षको खाजी गर्न आवश्यक पहल गर्न समेत अपिल गरिएको छ । सहकारीका उपाध्यक्ष रमेश भट्टराई र सचिव लक्ष्मी अधिकारीले आफूहरूलाई सहकारीको बारेमा केही जानकारी नभएको बताएका छन् । उनीहरुले केवल नातेदारले नागरिकताको फोटोकपी मागेकाले दिएको बाहेक अन्य कुरा थाहा नभएको बताए ।
प्रदेशमा २३ वटा सहकारीमा समस्यामा रहेको जसमध्ये १३ वटा बहुउद्देश्यीय र ९ वटा बचत तथा ऋण सहकारी रहेकोमा सनराइज बहुउद्देश्यीय पनि थपिन पुगेको छ ।
