काठमाडौं, वैशाख ८ :

पूर्वसंस्कृति, पर्यटन तथा नागारिक उड्यनमन्त्री योगेश भट्टराईले आफूलाई विमानस्थल भ्रष्टाचार प्रकरणमा आरोप लगाउनेहरु नै पर्ने दाबी गरेका छन्।

समाजिक संजाल फेसबुकमार्फत सोमबार आफ्ना भनाइ सार्वजनिक गर्दै उनले आफूलाई यसमा मुछ्नेहरु नै पर्ने र त्यसको प्रमाण आफूसँग भएको दाबी गरेका छन्।

उनले भनेका छन्, ‘मलाई औँला उठाउनेहरू नै पर्नेवाला छन्। डकुमेन्ट मसंग छ।आवश्यक परे सार्वजनिक गरौँला।’

आफू पर्यटनमन्त्री हुँदा आफ्नो निर्णयले राज्यलाई कुनै नोक्सानी भए प्रमाणसहित सार्वजनिक गर्न समेत भट्टराईले चुनौती दिएका छन्।

‘भ्रष्टाचार र बेथितीको दलदलमा जाकीएकाहरु काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्न कती खप्पिस छन भन्ने मैले राम्ररी बुझेको छु,’उनले लेखेका छन्, ‘मिडिया ट्रायल गरेर उम्कन सकिन्छ भनेर ढुक्क नभए हुन्छ।’

उनले आफ्नो कार्यकालमा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका बखत आफूले गरेको हस्ताक्षरको निर्णयले राज्यलाई कुनै नोक्सानी भएको भए प्रमाणसहित सार्वजनिक गर्न पनि चुनौती दिएका छन् ।

संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा  ठूलो भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

महालेखापरीक्षकको प्रतिवेदनले पनि यो विमानस्थल निर्माणका क्रममा २ अर्ब २ करोड ४० लाख आर्थिक अनियमितता भएको उल्लेख छ ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि भैरहवा विमानस्थल निर्माण गर्दा भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । एसियाली विकास बैंकको करिब ८ अर्ब रुपैयाँ ऋण लगानीमा यो विमानस्थल निर्माण गरिएको हो ।