
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनलाई नरोक्न शिक्षकहरूलाई अपिल गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवस पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षकहरूले पटकपटक वार्ता गरेर पनि असफल भएको भन्दै यो पटक धैर्यतापूर्वक आन्दोलन जारी राख्न अपिल गरेका हुन् ।
शिक्षकहरूको माग नयाँ नभएको भन्दै उनले सम्झौता अनुसार अघि बढ्न प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिरहेको जिकिर गरे ।
‘शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु । तपाईंहरूले पटक पटक आन्दोलन गर्नुभएको, पटक-पटक सम्झौता गर्नुभएको छ र पटकपटक धोका भएको छ,’ प्रचण्डले भने, ‘यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ । शिक्षकहरूको अझै धेरै छ ।’
विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन् । सरकारसँग पटक-पटक वार्ता गरे पनि आश्वासन मात्र पाइएको र कार्यान्वयन हुने छाँटकाँट नदेखेको शिक्षकहरुको भनाइ छ । उनले वर्तमान सरकार आफ्नै बोझ थाम्नसक्ने अवस्थामा नरहेको बताए ।