
प्रधानमन्त्री केपी ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको दाबी गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्रीको राजीनामाबारे प्रधानमन्त्री ओलीले प्रस्ट्याए । मन्त्री भट्टराईको राजीनामालाई प्रधानन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएकामा ओलीले असन्तुष्टि जनाए ।
‘उहाँ मैले बनाएको मन्त्री हो । मैले काम लगाइरहेको छु । सहयोग गरिरहेको छु । सिकाइराखेको छु । ठुलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठीक भएन भनेर राजीनामा दिनुभएको हो । यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन,’ प्रधानमन्त्री ओलीले दाबी गरे ।
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैंकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजिएको टिप्पणी गर्दै एमाले र कांग्रेससँगको सहमतिबमोजिम १५ महिनापछि आफूले सभापति देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने दोहोर्याए ।