काठमाडौं, वैशाख ९ :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतका समकक्षी मनोहरलाल खट्टरलाई स्वागत गरेका छन् ।

खड्काको निमन्त्रणामा आज (मंगलबार) काठमाडौं आइपुगेका भारतीय मन्त्री खट्टरलाई खड्काले त्रिभुवन विमानस्थलस्थित नेपाली सेनाको विशिष्ट कक्षमा स्वागत गरे । स्वागतपछि खड्का र खट्टरसहितको टोली भारतीय लगानीमा संखुवासभाको अरुण नदीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्न संखुवासभा गएको छ ।

मकालु गाउँपालिकामा निर्माण हुन लागेको उक्त आयोजना ९०० मेगावाटको छ । उक्त आयोजना पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७५ वैशाखमा नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

भारतीय विद्युतमन्त्री खट्टर मंगलबार साँझ काठमाडौँमा हुन लागेको दुई देशको संयुक्त लगानीमा निर्माण गर्न लागिएको लम्की-बरेली र इनरुवा-पूर्णिया प्रसारण लाइनको सम्झौतापत्र हस्ताक्षर समारोहमा सहभागी हुने कार्यक्रम रहेको मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिए ।

भारतका विद्युत्‌मन्त्री खट्टरले भोलि (बुधबार) बिहान मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । मुक्तिनाथबाट काठमाडौं फर्केलगत्तै पशुपतिनाथको दर्शन गर्ने कार्यक्रमसमेत रहेको प्रवक्ता देवले जनाए ।

पशुपति दर्शनपछि प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । खट्टर भोलि (बुधबार) साँझ स्वदेश फर्कने छन् ।