
विद्यालय बन्द गरेर तीन हप्तादेखि शिक्षकहरु काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेका बेला पाल्पामा भने अभिभावकले पठनपाठन गराउन भन्दै दबाब दिन थालेका छन् । लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीलाई समस्या भएको भन्दै अभिभावकले विद्यालय खोल्न विद्यालय व्यवस्थापन समितिलाई दबाब दिन थालेका हुन् ।
जिल्लाको माथागढी गाउँपालिका–१ चिदीपानीस्थित ज्ञानोदय आधारभूत विद्यालयका अभिभावकले विद्यालयमै पुगेर व्यवस्थापन समितिलाई विद्यालय खोल्न दबाब दिएका छन् । अभिभावकहरू नाराबाजीसहित सोमबार पठनपाठन सुरु गर्न विद्यालयमै पुगे । अभिभावक ताराबहादुर विश्वकर्माले शिक्षकका कारण विद्यार्थीको भविष्य बिग्रिने भन्दै एकजुट भएर दबाब दिनुपरेको बताए। ‘शिक्षकहरूले आफ्ना जायज माग राखेर आन्दोलन गर्नुभएको होला त्यो अन्यथा हैन तर हाम्रा बच्चाको भविष्यप्रति खेलवाड गर्नुभएन,’ उनले भने, ‘हाम्रा बच्चाको भविष्यका लागि विद्यालय खोल्न आन्दोलन गरेका हौँ ।’
अर्का अभिभावक लीलाकुमारी विकले लामो समय हुँदासमेत विद्यालय खुल्ने छाँटकाँट नदेखेपछि आफुहरू आन्दोलित हुनुपरेको बताइन् । ‘निजी विद्यालयले पठनपाठन गराइरहँदा हाम्रा बालबच्चा भने घरमै बस्न बाध्य छन् । यो राम्रो भएन, ’ उनले भनिन्, ‘ आफ्ना माग राख्न पाइन्छ तर त्यसलाई रचनात्मक रूपमा गरे हुन्थ्यो नि! बन्द गरेर त राम्रो भएन ।’
विद्यार्थीलेसमेत पढाइबाट वञ्चित हुनुपरेको गुनासो गरेका छन् । विद्यार्थी कुसुम परियारले भर्ना भएर पढ्नुपर्ने बेलामा हालसम्म विद्यालय नखुल्दा आफूहरू समस्यामा रहेको बताइन् । ‘आफुसँगैका धेरै साथी निजी विद्यालयमा गए तर आर्थिक अवस्थाका कारण उता जान पनि सकेनौँ, ’ उनले भनिन् , ‘ यता कहिले विद्यालय खुल्ने हो टुङ्गो छैन । यसले निकै समस्या भयो ।’
अर्का विद्यार्थी दिवस बगालेले पनि आन्दोलनका कारण विद्यालय बन्द भएपछि आफुहरूको भविष्य अन्योलमा रहेको बताए ।
अभिभावकले आन्दोलन गरेपछि विद्यालयले पठनपाठन गराउन तयार भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीले विद्यार्थीप्रति व्यवस्थापन समिति उत्तिकै चिन्तित रहेको र अभिभावकले समेत विद्यालय खोल्न दबाब दिएपछि आजदेखि नियमित रूपमा पठनपाठन सुरु गरिएको बताए । ‘हामीले सोमबार नै अभिभावक, विद्यार्थी र शिक्षकहरूसँग छलफल गरेका थियौं । विद्यालय सञ्चालन गर्ने विषयमा निर्णय भइसकेको थिएन तर आज बिहानै अभिभावक विद्यार्थीसहित आएर विद्यालय नखोजे निजी स्कुलमा जान्छौँ भने,’ उनको भनाइ छ,“विद्यालय खोल्नुहोस् हामी तपाईहरूकै साथमा छौं भन्दै आन्दोलन गरेपछि हामीले विद्यालय खोल्ने निर्णय गरेका हौँ ।’
वडाभित्रका अन्य विद्यालयमा पनि पठनपाठन सुरु भएको वडाध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पन्थीले जानकारी दिए ।