म्याग्दी, भदौ १४ :

जोमसोम- पोखरा हवाई सेवा दुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । मौसमका कारण गत असार १७ गतेदेखि हवाईसेवा स्थगित भएको थियो । 

जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालले दुई महिनापछि समिट एयरलायन्सले आज पाँचवटा उडान भरेको जानकारी दिनुभयो ।

मौसममा सुधार आएको र पर्यटकीय याम सुरु हुन लागेकाले पनि पोखरा- जोमसोम हवाई सेवा पुनः सुरु गरिएको उहाँले बताउनुभयो ।

तारा एयरको जहाजले यही भदौ १८ गतेदेखि उडान भर्ने तयारी गरेको छ ।

पाँच उडानमार्फत आज ९० जना मुस्ताङ भित्रिएको प्रमुख लम्सालले बताउनुभयो । बेनी- जोमसोम सडकको म्याग्दी खण्डमा पहिरोका कारण यातायात सेवा प्रभावित भइरहेको अवस्थामा हवाई सेवा पुनः सुरु भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज भएको छ ।