काठमाडौं, वैशाख १३ :

गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको आरम्भ भएको छ ।

तीन दिन चल्ने महोत्सवको प्रधानमन्त्री केपी ओलीले शनिबार उद्घाटन गरे । महोत्सवमा थाइल्यान्ड, कम्बोडिया, चीनलगायत ५० मुलुकका भिक्षुका साथै बौद्ध धर्मावलम्बीको उपस्थिति छ । लुम्बिनी विकास कोष र सारिपुत्र फाउन्डेसनको संयुक्त आयोजनामा महोत्सव आयोजना गरिएको हो ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कोषका उपाध्यक्ष ल्यारक्याल लामालगायत विशिष्ट अतिथिहरूको पनि उपस्थिति छ ।

महोत्सवको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी ओलीले वर्तमान विश्वमा शान्तिका लागि गौतम बुद्धका शिक्षाहरूको आवश्यकता झनै बढेको बताएका छन् । उनले युद्ध र अशान्तिका बीचमा शान्ति र करुणाका विचारहरू संसारभर फैलाउनुपर्ने बेला आएको बताए ।

‘आज संसारमा खतरनाक किसिमका हतियारहरू निर्माण भइरहेका छन्। युद्धबाट शान्ति सम्भव छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले शान्तिका लागि बुद्धका शिक्षाहरूको महत्त्व अझ बढेको छ ।’ उनले एकातर्फ विश्वमा अशान्ति मच्चिएको बेला अर्कातर्फ नेपालको अगुवाइमा बुद्धका विचारहरू  शान्ति, मानवता र करुणा विस्तार भइरहेको उल्लेख गरे।

यस्तै कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन र चिन्तनको  रूपमा पहिचान कायम गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । ‘लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन,चिन्तन र मननको केन्द्रका रूपमा पहिचान कायम गराउन सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘विश्वविख्यात योजनाविद् केन्जो टांगको गुरुयोजनालाई आधारमा लिई रामग्राम, देवदह, तिलौराकोट, गोटिहवा र निग्लिहवाजस्ता धार्मिक ऐतिहासिक स्थल समेट्दै लुम्बिनी क्षेत्रको एकीकृत विकास गर्ने लक्ष्य लिएको छ ।’

उनले बौद्ध धर्मावलम्बीको मर्म आत्मसात् गर्दै स्थानीय समुदायको अपनत्व र प्रकृति र विकासको  सन्तुलन आवश्यक रहेको औंल्याए । उनले संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ थान् को सोचलाई आत्मसात् गर्दै लुम्बिनीको विकास र प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसंघका १६ राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय समितिलाई पुन: सक्रिय बनाउन यसै वर्ष बैठक आह्वान गर्नेसमेत विश्वास दिलाए ।

एसियन बुद्विष्ट कल्चरल फेस्टिभलले लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्नसमेत टेवा पुग्ने मन्त्री पाण्डेको भनाइ छ । उनले लुम्बिनी विकास कोषको ऐन संशोधन गरिने पनि बताए ।

हेरौं महोत्सवमा देखिएका थप तस्बिर :