
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सल्लाहकार समितिको बैठक आज बस्दै छ।
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ९ः ३० बजे बैठक उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा पार्टीले लिएका नीतिहरूका बारेमा सल्लाहकारहरूले आफ्नो धारणा दिनेछन् । पार्टीलाई सफल, सक्षम र मजबुत बनाउन बैठकको आयोजना गरिएको उहाँले बताउनुभयो । राप्रपाको ३४ वर्षको इतिहासमा यो बैठक पहिलो पटक गर्न लागिएको हो ।
सल्लाहकार समितिको अध्यक्षमा पार्टीका नेता एवं पूर्वमन्त्री निरञ्जन थापा हुनुहुन्छ । उक्त बैठकमा पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र अन्य नेताहरूको पनि सहभागिता रहने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।