काठमाडौं, वैशाख १३ :

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनुपर्ने बताएका छन् ।

विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग तथा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, प्रतिलिपि अधिकार राजिस्ट्रारको कार्यालयले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

बौद्धिक सम्पत्ति (आईपी) बारे पर्याप्त ज्ञानको अभावले पनि यसको संरक्षणमा चुनौती थपिने गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले कतिपय ट्रेडमार्ककका विषयमा विवादहरु आउने गरेकोले यसको समाधानमा जोड दिनुपर्ने बताए । यस्तै उनले ट्रेडमार्क तथा पेटेन्टका विषयमा पर्ने उजुरी र यसको सुनुवाइको प्रक्रियालाई सरल रहज र छिटो गर्नुपर्नेमा जोड दिए ।

‘नेपालको कानुनले पनि बौद्धिक सम्पत्तिलाई कानुनमा सुरक्षित गरिएको छ । जसले पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्कहरूलाई सुरक्षित राख्न सहयोग गरेको छ । यस्ता कार्यक्रमले बौद्धिक सम्पत्तिका विषयमा जनचेतना अभिवृद्धिमा ठूलो सहयोग पुग्नेछ,’ उनले भने ।

उनले गीत-संगीत क्षेत्र मनोरञ्जन उद्योगका रुपमा विकास हुँदै आएको अवस्थामा सर्जकहरुले सिर्जनाको संरक्षण आवश्यक रहेको बताए । विश्व बौद्धिक सम्पदा संगठन (वाइपो) ले पहिलो  विश्व आईपी दिवस २००१ मा मनाउन थालिएको थियो ।