तेहरान, वैशाख १४ :

इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाह शहीद रजाईमा शनिबार भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ८ सयभन्दा बढी घाइते भएका छन्। विस्फोटपछि आइतबार बिहानसम्म पनि आगो पूर्ण रूपमा निभ्न सकेको छैन।

दक्षिणी इरानको होर्मुज जलडमरूमध्य नजिकै रहेको यो बन्दरगाह विश्वको तेल आपूर्तिमा महत्वपूर्ण मानिन्छ। प्रारम्भिक जानकारीअनुसार विस्फोट खतरनाक रासायनिक पदार्थ भण्डारण गरिएको क्षेत्रबाट सुरु भएको बताइएको छ।

इरानी भन्सार कार्यालयले राज्य टेलिभिजनमार्फत दिएको जानकारीअनुसार आगो रासायनिक डिपोबाट सुरु भएर विस्फोटमा परिणत भएको हो। न्युयोर्क टाइम्सले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्ससँग सम्बन्धित एक श्रोतलाई उद्धृत गर्दै विस्फोट ठोस इन्धनका लागि प्रयोग हुने सोडियम पक्र्लोरेटका कारण भएको जनाएको छ।

फार्स समाचार एजेन्सीका अनुसार विस्फोटको धक्का ५० किलोमिटर टाढासम्म महसुस गरिएको थियो। टेलिभिजनमा देखाइएका दृश्यमा उद्धारकर्मीहरू भग्नावशेषबीच खोजीमा जुटिरहेका छन्, र जलिरहेको ट्रक ट्रेलर तथा क्षतिग्रस्त सवारी साधनहरू देखिएका छन्। एक हेलिकप्टरले बाक्लो धुवाँ उठिरहेको शिपिङ कन्टेनर क्षेत्रमाथि पानी खन्याइरहेको देखिएको छ।

चीनको सरकारी प्रसारक सिसिटिभीले बन्दर अब्बासस्थित चिनियाँ वाणिज्य दूतावासलाई उद्धृत गर्दै तीन चिनियाँ नागरिक सामान्य घाइते भएको जनाएको छ। स्थानीय आपत्कालीन सेवाका अनुसार सयौँ घाइतेहरू नजिकका अस्पतालमा लगिएको छ भने रक्तदानका लागि सर्वसाधारणलाई आह्वान गरिएको छ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियनले घटनामा घाइते तथा ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै कारण पत्ता लगाउन तत्काल अनुसन्धान गर्न आदेश दिएका छन्। गृहमन्त्री इस्कन्दर मोमेनीले अवस्था नियन्त्रणमा लिन देशभरका स्रोतसाधन परिचालन गरिएको जानकारी दिए।