काठमाडौँ, भदौ १५ :

गृहमन्त्री रमेश लेखकले उपभोक्तालाई चाडपर्वको बेलामा आवश्यक दैनिक उपभोग्य सामग्रीहरू सरल र सहज रुपमा प्रदान गर्नेगरी आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ ।

बिहीबार मन्त्रालयमा चाडबाड नजिकिँदै गर्दा हुने ठगीका घटनाहरूको बारेमा जानकारी लिँदै गृहमन्त्री लेखकले नागरिकलाई सहज पहुँच बिस्तार गर्नेगरी  आवश्यक व्यवस्था गर्न सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गर्नुभएको हो ।

उहाँले नागरिकले सहज र सरल रूपमा उपभोग्य वस्तुहरू पाएको महसुस हुनेगरि परिणाममुखी काम गर्न निर्देशन दिनुभएको हो।

गृहमन्त्री लेखकले बजारमा कृत्रिम अभाव हुन नदिन, मूल्यवृद्धि निमन्त्रण गर्न, अखाद्य वस्तुहरू चाडबाडको बेलामा बिक्री हुन नदिन पनि उच्च निगरानी गर्न निर्देशन दिनुभएको छ ।

अखाद्य वस्तुहरू चाडबाडको बेलामा बिक्री हुने भन्दै त्यसमा सचेत रहन र निगरानी बढाउन पनि उहाँले आग्रह गर्नुभयो ।

गृहमन्त्री लेखकले दसैँ तिहारमा हुने सवारीसाधनको मूल्यवृद्धिको विषयमा पनि निगरानी बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ ।