काठमाडौँ, भदौ १५ :

आज विभिन्न ८ वटा संसदीय समितिका बैठक बस्दै छन् । 

सङ्घीय संसद् अन्तरगत बिहान ९ बजे बस्ने अर्थ समितिको बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । 

बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । 

बिहान साढे ११ बजे बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुनेछ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठक बिहान पनि साढे ११ बजे बस्दै छ। बैठकमा तयारी पोसाक निर्यातमा देखिएका नीतिगत समस्याका सम्बन्धमा नेपाल तयारी पोसाक उद्योग सङ्घका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

दिउँसो १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) बैठकमा समितिको कार्यविधि पारित गर्ने र समितिको वार्षिक कार्यतालिकाका विषयमा छलफल हुनेछ । 

संसदीय सुनुवाइ समितिको बैठक दिउसो एक बजे बस्दै छ । बैठकमा राजदूतमाथि परेका उजुरीबारे छलफल हुनेछ।

त्यसैगरी दिउँसो २ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा वन तथा वातावरण मन्त्रालयबाट यस आर्थिक वर्षमा सम्पादन हुने कार्यक्रम, कार्यसम्पादनमा रहेका समस्या र मन्त्रालयको बजेटका विषयमा छलफल हुनेछ । 

दिउँसो ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा उपसमितिको प्रतिवेदन पेस गरी छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।