
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल आज बर्दियाको राजापुर नगरपालिका ४ मा सहिद तथा बेपत्ता परिवारसँग अन्तर्क्रिया र छलफल गरेका छन् ।
जनताको माओवादी तराई मधेस जनजागरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा उनले सहिद तथा बेपत्ता परिवारका सदस्यहरूसँग प्रत्यक्ष संवाद गर्न स्थानीय तहका नेताहरुलाई सहभागी नगराई खुला वातावरण सिर्जना गरिएको थियो ।
अन्तर्क्रियामा सहभागीहरूले जनयुद्धको ऐतिहासिक सन्दर्भ, आफ्ना संघर्षका कथा लेखेर शैक्षिक पाठ्यक्रममा समेट्नुपर्ने, जीविकोपार्जन, बालबच्चाको पालनपोषण, शिक्षा र रोजगारीका समस्याहरू समाधान गर्न आग्रह गरे ।
गुनासाहरू सुनेपछि अध्यक्ष दाहालले भने, ‘पार्टीले वर्गीय र सहिद, बेपत्ता परिवारसँग सम्बन्ध सुधार गर्न देशभर अभियान चलाइरहेको छ । हामी सकेसम्म सहिद तथा बेपत्ता परिवारका घरमै बसी दु:खसुख साट्दै आएका छौँ ।’
उनले जनयुद्धलाई राष्ट्रिय दिवसका रूपमा घोषणा गरेको प्रसंग स्मरण गरे । ‘शान्तिप्रक्रिया नसकिन्जेल अदालतको आदेशका कारण रोकिएको भए पनि जनयुद्धलाई राष्ट्रिय दिवसका रूपमा मनाउने पक्षमा पार्टी अडिग छ,’ उनले भने ।
अध्यक्ष दाहालले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको र आयोग गठन प्रक्रिया अघि बढेको जानकारी दिए । ‘आयोग बनेपछि सहिद तथा बेपत्ता परिवारका नाममा पार्क बनाइने, प्रमाणपत्र वितरण गरिने र कम्तीमा एकजना सदस्यलाई रोजगारी दिने व्यवस्था सुनिश्चित गरिएको छ,’ उनले भने, ‘साथै सार्वजनिक यातायातमा छुटसहित गणतन्त्र सेनानीका रूपमा सम्मान दिने व्यवस्था पनि विधेयकमा समावेश गरिनेछ ।’
राज्यद्वारा सबैभन्दा बढी व्यक्ति बेपत्ता पारिएको जिल्ला बर्दिया भएको उनले स्मरण गरे । ‘संयुक्त राष्ट्रसंघको रेकर्डअनुसार समेत बर्दियामा सबैभन्दा बढी बेपत्ता घटना भएका छन् ।’ अध्यक्ष दाहालले सबै सहिद तथा बेपत्ता परिवारलाई पार्टीको विचार, नीति र मार्गनिर्देशनको पक्षमा दृढ रहन आग्रह पनि गरे ।