.jpg)
नगर प्रहरीका लागि सञ्चालन गरिएको ट्राफिक व्यवस्थापनसम्बन्धी सैद्धान्तिक र व्यवहारिक तालिमको आज (मंगलबार) समापन गरिएको छ ।
काठमाडौं महानगरपालिका, नगर प्रहरी बलले, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा ५३ जना नगर प्रहरी हवल्दार र १२७ जना नगर प्रहरी जवानलाई प्रदान गरिएको तालिम राष्ट्रिय सभा गृहमा औपचारिक समारोहसहित समापन गरिएको हो । २०८१ फागुन १८ गतेदेखि सुरु भएको तालिम ३ समूहमा सञ्चालन गरिएको थियो । हरेक समूहलाई १५ कार्य दिनको तालिम दिइएको थियो । हरेक समूहमा ६० जनालाई सहभागी गराइएको थियो ।
तालिम समापन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले सवारी आवागमनमा थप सहजता आउने अपेक्षा गरे । ‘हातको संकेतका भरमा थोरै जनशक्तिबाट काम गर्न कठिन भइरहेको थियो । नगर प्रहरी बलमा ट्राफिक व्यवस्थापनको तालिम प्राप्त जनशक्ति थपिएपछि सवारी चालक, सवारी यात्रु र पैदल यात्रुले सहजता महसुस गर्नुहुनेछ,’ घिमिरेले भने, ‘यसबाट तालिमको नतिजा पुष्टि हुन्छ ।’ ट्राफिक प्रहरीलाई सवारी आवागमनको मात्र दायित्व छ । ‘नगर प्रहरीलाई सहरी व्यवस्थापनको दायित्व दिइएको छ । यसकारण नगर प्रहरीबाट थप प्रभावकारी नतिजा प्राप्त गर्न सकिन्छ,’ घिमिरेले अपेक्षा राखे ।
त्यस क्रममा महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले नागरिकले अपेक्षा गरेको सहरी व्यवस्थापनका लागि नगर प्रहरीको दक्षता बढाउँदै लगिएको बताए । ‘ट्राफिक व्यवस्थापनसम्बन्धी तालिम यसैको एउटा भाग हो । यसबाट सहरी व्यवस्थापनका लागि खटिने नगर प्रहरीहरुलाई कानुन, नीति र आदेशको पालनामा ज्ञान, सीप र विवेकको प्रयोग गर्न दक्षता बढेको छ,’ पाण्डेको भनाइ छ ।
तालिमका आन्तरिक कक्षाहरु सैद्धान्तिक विषयसँग सम्बन्धित थिए । यस्तै बाह्य कक्षाहरु प्रयोगात्मक, शारीरिक व्यायाम, प्राथमिक कवाज, टोली कवाज, ट्राफिक सिग्नल कवाजलगायत सीप सिकाइएको तालिमका संयोजक प्रहरी निरीक्षक ज्ञानबहादुर माझीले तालिम प्रतिवेदनमार्फत जानकारी दिए ।
सैद्धान्तिक कक्षामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ का व्यवस्थासँगै ट्राफिक शव्दावलीहरु, संकेत तथा चिह्न र रोड फर्निचर, सडक सुरक्षा र सुरक्षित यात्रा, ट्राफिक व्यवस्थापनमा सरोकारवालाको भूमिका, सामान्य अवस्था र विशेष अवस्थाको ट्राफिक व्यवस्थापन, वर्कसप, सडक दुर्घटना र व्यवस्थापन, ट्राफिक व्यवस्थापनमा नवीनतम प्रविधिको प्रयोग, कूटनीतिक सुविधा प्राप्त सवारी-साधनसम्बन्धी व्यवस्था, सडक पूर्वाधार, सवारीसाधन र प्रदूषणलगायत विषयमा ज्ञान प्रदान गरिएको छ । सैद्धान्तिक रुपमा सिकेका कुरालाई बाह्य कक्षामा प्रयोग गरिएको थियो ।