कोलकाता, वैशाख १७ :

भारतको कोलकातास्थित एक होटेलमा भएको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । मंगलबार साँझ होटेलमा आगलागी हुँदा मानिस बच्नका लागि झ्यालबाट हामफालेका थिए । केही व्यक्ति भने छतमा चढेर निस्किएका थिए ।

‘दुई बालबालिका र एक महिलासहित मृतकको सङ्ख्या १५ पुगेको छ,’ आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको जानकारी दिँदै कोलकाताका प्रहरी प्रमुख मनोज बर्माले भने, ‘धेरै मानिसको निस्सासिएर मृत्यु भएको देखिन्छ ।’

आगलागी हुँदा ८८ जना पाहुना रहेको ऋतुराज होटेल कोलकाताको केन्द्रीय भागको व्यस्त र व्यापारिक क्षेत्रमा अवस्थित छ । १२ भन्दा बढी मानिस जलेर घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।

भारतमा अग्नि नियन्त्रण उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित उपेक्षाका कारण भवनमा आगलागी हुने घटनाहरू सामान्य छन् । गत वर्ष पूर्वी राज्य बिहारको पटनामा एक होटेलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारहरूप्रति समवेदना प्रकट गरेका छन् । एक करोड ५० लाखभन्दा बढी जनसङ्ख्या भएको कोलाकाता पश्चिम बङ्गाल राज्यको राजधानी हो । -बीबीसी