काठमाडौं, वैशाख १८ :

सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार(भोलि) संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने भएको छ।

संघीय संसद् सचिवालयका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको हो।

नीति तथा कार्यक्रम प्रस्तुतिका लागि आवश्यक तयारीहरू अन्तिम चरणमा पुगेको सचिवालयले जनाएको छ। बैठकमा सहभागी हुन सबै सांसद, उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, सरकारका उच्चपदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधिहरूलाई आमन्त्रण गरिसकिएको प्रवक्ता एकराम गिरीले जानकारी दिए।

बैठक कक्षको सरसफाइ, सजावट, प्रवेश पास वितरणलगायत तयारीहरू भइरहेका छन्। राष्ट्रपतिको सवारी सुरक्षाका लागि विशेष प्रबन्ध मिलाइएको छ भने शुक्रबार बिहान ‘रिहर्सल’ समेत गरिने कार्यक्रम छ।

संयुक्त बैठकपछि दुवै सदनमा छुट्टाछुट्टै बैठक बस्नेछ। ती बैठकमा राष्ट्रपतिको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरिनेछ भने सम्बोधनको प्रतिलिपि संसद्मा टेबुल गरिनेछ। त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पनि बैठकमा वाचन गरिने सम्भावित कार्यसूचीमा रहेको छ।