काठमाडौं, वैशाख १८ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले श्रमिक वर्गलाई समाज परिवर्तनको आधार र विकासको प्रणेता भएको उल्लेख गरेका छन् ।

राजधानीमा बिहीबार आयोजित १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा गरिएको कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

अध्यक्ष दाहालले नेपालमा श्रमिक वर्गका हितका लागि २००६ सालदेखि निरन्तर आन्दोलन हुँदै आएको र त्यसकै महत्त्वपूर्ण निरन्तरता २०५२ सालमा माओवादी नेतृत्वमा भएको जनयुद्ध रहेको दाबी गरे । उनले जनयुद्धकै जगमा मजदुर र श्रमजीवी वर्गका हक अधिकार संविधानमा सुनिश्चित गरिए पनि ती अधिकार व्यवहारमा अझै कार्यान्वयन नसकेको बताए । उनले यसका लागि संविधानमै समीक्षा आवश्यक रहेको धारणा राखे ।

अध्यक्ष दाहालले ठेकेदारी प्रथा, आउटसोर्सिङ र न्यून ज्यालाजस्ता श्रमिकविरोधी प्रवृत्ति नियन्त्रण गर्न नसकिएकोप्रति चिन्ता जनाए । राम्रो काम गर्दा गर्दै सरकारबाट हट्नु परेको बताउँदै उनले माओवादी नेतृत्वको सरकारबाट भएका राम्रा कामहरूको चर्चा गरे ।

उनले सामाजिक सुरक्षाको विस्तार, मिटर ब्याजपीडितको समस्या समाधानका लागि लिएको पहल, अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षाअन्तर्गत ल्याउने पहललगायतलाई श्रमजीवी वर्गको हितमा माओवाअदीले गर्न खोजेका उल्लेखनीय काम भएको दाबी पनि गरे ।

‘हामीले जनयुद्धमा श्रमिकवर्गसँग गरेको अपिल र उनीहरूको त्यागअनुसार काम गर्न सकेनौं कि भन्ने आत्मसमीक्षा गरेका छौं,’ उनले भने । उनले भ्रष्टाचारविरुद्धको संघर्ष, तराई-मधेसलगायत अभियानमा जनताको दुःख देखेर गरिएको आत्मसमीक्षा र जनता आफ्नो वर्ग संघर्ष सम्बन्ध सुधारको अभियानलाई पार्टीभित्र गम्भीर रूपले अघि बढाइएको स्पष्ट पारे ।

झापादेखि कञ्चनपुरसम्म सञ्चालन गरिएको हुलाकी राजमार्गकेन्द्रित अभियानको प्रसंग उल्लेख गर्दै उनले जनताको घरघरमा पुगेर पीडा बुझेको र त्यही अनुभूतिका आधारमा माओवादी पार्टीले आफूलाई सुधारेर श्रमिक र किसानको असली पार्टी बनाउने दृढता जनाए ।

‘राम्रो काम गर्दा गर्दै बिचौलियाको घरमा मध्यरातमा सेटिङ गरेर सरकारबाट हटाउन बाध्य पारियो तर हामी जनतासँग छौं, वर्गसँग छौं,’ उनले भने । जनताको पक्षमा संविधान संशोधन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा नयाँ आन्दोलनका लागि तयार रहन पनि उनले पार्टीका नेता-कार्यकर्तालाई आग्रह गरे ।