
फाइल फोटो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको आधार निर्माण नगरी आफू राजनीति र जीवनबाट विश्राम नलिने अठोट व्यक्त गरेका छन्।
दक्षिणकाली नगर समितिको चौथो नगर सम्मेलनलाई शनिबार सम्बोधन गर्दै प्रचण्डले संगठन विस्तार र जनसम्पर्क अभियानमार्फत पार्टीमा नयाँ ऊर्जा संचार भएको बताए।
‘म अहिले ७१ वर्ष पुगेँ, तर अझै नयाँ क्रान्तिको नेतृत्व गर्ने उत्साह छ,’ उनले भने, ‘समाजवादको आधार तयार पारेर मात्र म यो दुनियाँबाट विदा हुनेछु भन्ने संकल्पमा छु। ’
उनले पछिल्लो समय सञ्चालन गरिएको तराई–मधेश जागरण अभियान पार्टीका लागि अपेक्षाभन्दा धेरै प्रभावकारी भएको उल्लेख गरे।
‘हामीले झण्डै दुई महिनाको अवधिमा अभियान चलायौँ। हजारौँ होइन, लाखौँ होइन, लगभग एक करोड जनतासँग संवाद गर्यौँ,’ प्रचण्डले भने, ‘कञ्चनपुरसम्म पुग्दा यो अभियान माओवादी केन्द्रको मात्र नभई राष्ट्रिय अभियानको रूप लिन पुग्यो।’
अभियानले पार्टी पंक्तिमा नयाँ ऊर्जा थपेको भन्दै प्रचण्डले अब संगठन निर्माण र विस्तारमा केन्द्रित हुन निर्देशन दिएका छन्। त्यस्तै, उनले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दाको समयमा भ्रष्टाचारविरुद्धको अभियान ऐतिहासिक भएको दाबी गरे।