काठमाडाैं, वैशाख २१ :

लगातारको वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडक खण्ड अवरुद्ध भएको छ। शनिबार रातिदेखि परेको भारी वर्षाले बागमती नदीमा बनाइएको डाइभर्सन बगाएपछि सडक आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानास्थित डाइभर्सन मार्ग आइतबार बिहानै बगाएको प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार घटनास्थलमा खटिएको प्रहरी टोलीले सडक खुलाउने प्रयास जारी राखेको छ।

यसअघि प्रशासनले मकवानपुरको बकैया गाउँपालिका अन्तर्गत ठिङ्गन–बगुवा सडक खण्डमा सडक चौडाइ विस्तारका लागि वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म दैनिक बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सवारी आवागमन बन्द रहने जानकारी दिएको थियो।

निरन्तरको वर्षा र डाइभर्सन बगाउँदा उत्पन्न अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले यात्रुहरूलाई यात्रा पूर्व सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न र अत्यावश्यक नपरेसम्म यात्रा टार्न आग्रह गरेको छ।