काठमाडाैं, वैशाख २१ :

 बजारमा अत्यधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज आइतबार पुनः ५० अर्ब रुपैयाँ झिक्ने भएको छ। तरलता व्यवस्थापन गर्न ‘निक्षेप संकलन उपकरण’ को प्रयोगमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम संकलन गर्न लागेको हो।

यसका लागि बैंक तथा वित्तीय संस्थालाई आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रक्रियामा भाग लिन आह्वान गरिएको छ। राष्ट्र बैंकले जारी गरेको सूचनामा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम पाँच करोड रुपैयाँको गुणफलमा भाग गर्नेगरी बोलकबोल गर्न सकिने उल्लेख छ।

पछिल्लो करिब डेढ वर्षयता राष्ट्र बैंकले तरलता सन्तुलनमा ल्याउन आइतबार र बुधबार गरी साप्ताहिक दुईपटक यस्तो निक्षेप संकलन गर्दै आएको छ। यो पनि सोही नियमित अभ्यासको निरन्तरताको रूपमा लिइएको छ।

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम अत्यधिक भएपछि त्यसले बजारमा असन्तुलन ल्याउने सम्भावना रहने भएकाले राष्ट्र बैंकले यस्तो कदम चालेको हो।