धादिङ, वैशाख २१ :

धादिङको गजुरी गाउँपालिका–२ का ६० वर्षीय चुडामणि कँडेलले आफ्नै श्रीमतीको हत्या गराउन चार लाख रुपैयाँ सुपारी दिए। तर योजना असफल भएपछि सुपारी लिएर बसेका अभियुक्तहरूले उल्टै कँडेलकै हत्या गरेका छन्।

गत चैत २७ गते आफ्नै घरको शौचालयमा घाँटीमा डोरी कसेर झुन्डिएको अवस्थामा फेला परेका कँडेलको मृत्यु प्रारम्भमा आत्महत्या जस्तो देखिए पनि विस्तृत अनुसन्धानपछि उनी हत्या गरिएको पुष्टि भएको हो।

हत्या योजना कसरी पल्टियो?

प्रहरीका अनुसार चुडामणि कँडेलले आफ्नो श्रीमती सुस्मिता कँडेलको हत्या गराउन मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का अक्कलबहादुर प्रजालाई चार लाख रुपैयाँ दिएका थिए। त्यो रकम उनले जग्गा बिक्री गरी उपलब्ध गराएका थिए। अक्कलले योजनामा पृथलाल थिङ र सञ्चलाल तामाङलाई पनि संलग्न गराएका थिए।

तीन जनाले सुस्मिताको हत्या प्रयास गरे पनि पटक–पटक असफल भए। त्यसपछि चुडामणिले दिएको रकम फिर्ता माग्न थाले। पैसा फिर्ता गर्न नसक्ने भएपछि अभियुक्तहरूले योजनामै फेरबदल गर्दै कँडेलको नै हत्या गर्ने निर्णय गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

कोदालोको बीँडले प्रहार, डोरीले नक्कली झुन्डिएको जस्तो देखाउने प्रयास

चैत २४ गते राति घरमै सुतेका कँडेलमाथि कोदालोको बीँडले प्रहार गरी हत्या गरिएको र हत्या पश्चात घटनालाई आत्महत्याको जस्तो देखाउन घाँटीमा डोरी कसेर झुन्डाइएको अवस्था सिर्जना गरिएको प्रहरीको भनाइ छ।

घटना पछि अभियुक्तहरू पृथ्वी राजमार्ग हुँदै फरार भएका थिए। तर, अनुसन्धानको क्रममा पक्राउ परेपछि घटनाको सम्पूर्ण विवरण खुल्न आएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी दिपेन्द्र शाहीका अनुसार अभियुक्तहरूले रकम लिएको, हत्या प्रयास गरेको र अन्ततः कँडेलकै हत्या गरेको स्वीकार गरेका छन्। अहिले तीनै जना प्रहरी नियन्त्रणमा छन् र घटनाको थप अनुसन्धान भइरहेको छ।